फ्रान्समा नेपालीहरूको इतिहास , ४ हजार नेपाली के गर्दैछन् ?

0

युरोपमा नेपालीहरुको बसाइ दिन प्रतिदिन बाक्लिँदै गएको छ। युरोप आउनलाई अझै पनि त्यति सहज छैन । तर, नेपालीहरुको संख्या भने दिन प्रतिदिन बढिरहेको पाइन्छ। अहिले युरोपको जुन मुलुकमा गए पनि नेपाली मात्र हैन समुदाय नै भेटिन्छ, तर पहिले त्यस्तो थिएन।बेलायत बाहेक अन्य मुलकमा नेपालीहरु भेट्न मुश्किल थियो यस्तै अनुभव छ गोरखा नगरपालिका- १ पोखरीथोक स्थायी घर भएका हरिहर अर्यालको। उनी युरोप टेकेको ३६ बर्ष पुगिसक्यो। सन् १९८० को मार्च महिनामा फ्रान्सको पेरिस आएका अर्याल भन्छन्, “हिजो जस्तै लाग्छ, युरोप छिरेको । तर, पत्तै नभर्इ समय बितेको झन्डै ४ दशक पुग्न पो लागिसकेछ।”

युरोप छिर्नु अगाडि ६ बर्षसम्म अर्यालले आफ्नै जिल्ला गोरखामा शिक्षकको रुपमा काम गरे।बिन्धबासिनी उच्च माध्यमिक बिद्यालयका त उनि संस्थापक प्रधानध्यापक समेत हुन्। उबेलामा पनि पढाइलेखाइमा अब्बल रहेका कारण अर्याललाई युरोप छिर्ने अवसर मिल्यो। प्राध्यापक कृष्णराज अर्याल फ्रान्सस्थित नेपाली दूताबासमा राजदूत नियुक्त भएपछि अर्याललाई पनि पिएको रुपमा दूताबासमा बोलाए।

झलमल्ल युरोप पहिलोपटक देख्द

गोरखामा बत्ती बाटो थिएन। गाउँमा टुकी बालेर पढियो, हुर्कियो, राजधानी छिरेको धेरै भएको थिएन । तर, बाटो र मोटर भने काठमाडौमा नै देख्न पाइयो। उत्साहित हुँदै अर्यालले आफ्नो अनुभव सुनाउँदै भने,” सन् १९८० को मार्च महिनामा फ्रान्सको एयरपोर्ट झर्दा सिमसिम पानि परेको थियो।

ठूला ठूला भवनहरु देख्दा अचम्म लाग्यो, चार-चार लेनका दोहोरा सडक बीचमा बोट बिरुवा सरसर गाडी कुदेको देख्दा धेरै विकसित लाग्यो। अनि सिसै सिसाका घरहरु झलमल्ल बत्ती सडकमा बलेको देख्दा रात दिन छुट्टाउँ नै गाह्रो पर्यो।”

घरपरिवारसँग कसरी सम्पर्क हुन्थ्यो ?

अहिलेजस्तै हात हातमा मोबाइल उ बेलामा थिएन। मोबाइल आएको कति नै भएको छ र ? अहिले त धेरै सजिलो नि, पहिले पहिले पो कठिन थियो अर्यालले थपे,” गोरखा सम्पर्क गर्न आकाशवाणि (वायरलेस) थियो, यता बोल्ने अनि उता चुपो लागेर खबर टिप्ने, फेरि उता बोल्ने यता चुपो लागेर सुन्नुपर्थ्यो।” सूचनाको आदान-प्रदान साधारणता यसरी नै हुन्थो, हामीले
बोलेको कुरा काठमाडौमा सुनेर अप्रेटरले टिपीदिन्थ्यो र फेरि गोरखाको अपरेटरलाई खबर टिपाए पछि तपाईको छोरा सन्चै हुनुहुन्छ है यसो भन्नुभाथ्यो भनेर खबर घरमा बा-आमालाई पुग्थ्यो।

मलाई लाग्छ, त्यति बेला १० शब्द बोल्दा करिव ४० फ्रान्क जति खर्च हुन्थो।” अर्यालले थपे, मेरो आफ्नो अनुभवमा गोरखामा टेलिफोन तार पुगे पछि आफैले विदेशबाट सम्पर्क गरेको भने सन् १९९०-९५ तिर होला।”

फ्रान्सभित्र भने यसरी हुन्थ्यो सम्पर्क

३६ वर्ष पहिले पनि फ्रान्सभित्र एकअर्का बीच सम्पर्क गर्न धेरै नै सहज हुने गरेको अनुभव अर्याल सुनाउँछन्। प्राय: घर-घरमा ल्याण्डलाइन टेलीफोन हुने हुँदा त्यो नै प्रमुख: सम्पर्कको आधार भएको उनी बताउँछन्। “सर्बसाधारणले घरमा वा अफिसमा ल्याण्डलाइन फोन नै प्रयोग गर्थे। अझ गल्लीपिच्छे नै टेलिफोन बुथहरु हुँदा सम्पर्क गर्न धेरै सजिलो हुन्थ्यो। पहिले-पहिले बुथमा सिक्का हालेपछि फोन गर्न मिल्थ्यो । पछि बुथ फुटाएर चोरी हुन थालेपछि कार्डको पनि सिष्टम आयो, त्यसपछि त मोबाइल आइहाल्यो।” उनले भने।

त्यसैले अझै पनि युरोपका

प्राय: देशहरुका गल्लीगल्लीमा टेलिफोन बुथहरु देखिन्छन् । ती पहिले धेरै नै प्रयोग हुन्थे अहिले मोबाइलका कारण धेरै नै कम प्रयोगमा आउँछन्। यस्तै अफिसहरुमा एक-अर्कालाई सम्पर्क गर्न वाकीटकीको पनि प्रयोग गर्ने गरेको अर्याल सम्झन्छन्।

३६ वर्ष पहिले र अहिलेको युरोपमा भिन्नता के ?

अर्याललाई भौतिक पूर्वाधारको हिसाबले पहिले र अहिलेमा खासै भिन्नता भने लागेको छैन। तर, पनि उनि थप्छन्,” ठूला पुराना भवनहरु भत्काएर साना साना घरहरु बनेका छन्, त्यो बेग्लै कुरा हो। बाटाहरु केही थपियो होला, सानो स्केलका बाटाहरु ठुलो भए होलान् । तर, हाम्रो आँखालाई देख्ने गरी ठुलै भौतिक परिवर्तन भएजस्तो लागेन। तर, ठुलै परिवर्तन त प्रशासनिक क्षेत्रमा पो भएको छ। सोचाइमा, संयन्त्रमा र अर्थतन्त्रमा त झनै आमूल परिवर्तन आएको छ।”

फ्रान्सलाई तुलना गर्दै उनले अहिलेको जनजीवन रुष्ट भएको बताउँछन्। पछिल्ला आतंङ्कारी घटनाहरुको कारणले केही फ्रान्सेली नागरिकले आप्रबासीलाई हेर्ने दृष्टिकोण पहिले जस्तो नभएको पनि सुनाउँछन्। उनी भन्छन् ,” कमाई अनुसार खर्च पनि बढ्दै गएको छ। पहिलेको भन्दा फ्रान्समा करिव २५ प्रतिशतले क्रय शक्ति पनि बढेको छ।”

फ्रान्समा नेपालीहरु कहिले आए ?

फ्रान्समा नेपालीहरू कहिलेदेखि आए र को को आए ? यसबारे अभिलेख प्राप्त नभए पनि सन् १९६० को दशकमा ४-५ जना नेपाली थिए भन्ने सुन्ने गरेको अर्याल बताउँछन्। उनका अनुसार सन् १९८०- ८१ ताका झण्डै १ सय ५० जना रहेको नेपालीहरुको संख्या रहेको अनुमान छ। तर, हाल आएर झण्डै ४ हजारको हाराहारीमा नेपालीहरु पुगेको अनुमान
अर्यालको रहेको छ।

कसरी फ्रान्समा नेपालीहरु आए त भन्ने प्रश्नमा अर्याल भन्छन्,” सन् १९६० को दशकदेखि हालसम्म नेपाल जाने पर्वतारोही र पर्यटकहरूले पनि नेपालीहरु ल्याए। कति त फ्रेन्चसँग वैवाहिक सम्बन्धमा बाँधिएर आए। यस्तै सन् १९८० देखि भित्रिएका एकाध विद्यार्थीहरू नै फ्रान्सका रहेका नेपालीहरूको आधार मानिन्छ।

अर्याल यसबारे यसो पनि भन्छन्,”झण्डै सन् २००० देखि फ्रेन्च कल्चर सेन्टरले दिएको विद्यार्थी छात्रवृत्तिमा आएका सूचनाप्रविधि इन्जिनियर र कम्युनिकेशनमा नगण्य मात्रामा छात्रवृत्ति पाएर मास्टर्स र पिएचडी गर्नेहरू, आफ्नै खर्चमा पढ्न आएका विद्यार्थीहरू, ओपेयर पद्धतिमा आएकाहरू र बेलायत छाडेर आएका विद्यार्थीहरू नै फ्रान्सका हालका नेपालीहरू हुन् ।”

फ्रान्समा नेपालीहरुको तेस्रो पुस्ताको जन्म भइसकेको पनि उनि बताउँछन्। पहिलो पुस्ताका नेपालीहरू धेरैले नेपाली नागरिकता कायम राखेको भए पनि भने यतै आएर पढेका तथा यती जन्मेकाहरूले भने फ्रेन्च नागरिकता लिने गरेको अर्याल सुनाउँछन्।

फ्रान्समा नेपालीहरुले के गर्छन् काम ?

फ्रान्समा झन्डै दुई दर्जन नेपाली रेष्टुराहरु संचालनमा छन्। अर्यालका अनुसार ८- १० बर्ष यतादेखि फ्रान्सको बैदेशिक सेना फोर्स, (फ्रेन्च फरेन लिजनमा) नेपाली युवाहरुको लागि उदयमान पेशा देखिएको छ। सन् १९९० को बरपर २ – ४ जना संलग्न भएको यो सेनामा हाल झन्डै ३ सय नेपाली युवाहरु संलग्न रहेका छन्। शारीरिक तन्दुरुस्ती भएका साहसी युवाहरु छनोट भएमा ५ बर्ष सम्म सेवा छोड्न पाइँदैन,५ बर्ष पूरा गरेपछि स्थायी बसोबास वा फ्रेञ्च नागरिकता लिई बाहिरी जनजीवन बिताई फ्रान्समा बस्न काम गर्न पाइने प्रावधान छ।

बहुसंख्यक नेपालीहरु सेवासम्बन्धी बालबच्चा, बृद्धको स्याहार गर्ने, रेष्टुरामा, घरायसी सरसफाइकै पेशामा संलग्न रहेको उनी सुनाउँछन्। थोरै मात्र नेपालीहरु सरकारी वा संस्थानमा काम गरेको पाइन्छ। केही साहसी नेपालीहरुले आफ्नै स्वामित्वमा प्लम्वरिङ, रंगरोगन, बिजुलीको कम्पनी संचालन गरेको पाइन्छ भने नगन्य मात्रामा नेपाली ह्याण्डीक्रापट– नेपाली पोशाकको पसल तथा ब्युटी पार्लर संचालन गरेको पनि देखिन्छ।

फ्रान्स-नेपाल सम्बन्धबारे अर्यालको धारणा

फ्रान्स र नेपालको सम्बन्ध १७९० देखि नै जोडिएको देखिन्छ । पृथ्वीनारायण शाहको समयमा केही फ्रान्सेली सैनिकहरू कलकत्ता हुँदै गोरखा गई हातहतियार बनाउने तालिम दिएको अभिलेखमा पाइन्छ ।

राणा प्रधानमन्त्री जंगबहादुर राणाले बेलायत भ्रमण गर्दा सन् १८५० को २ अगष्ट देखि १० अगष्टसम्म फ्रान्सको भ्रमण गरेको र त्यसकै प्रभावबाट नेपाली सैनिकमा सुधार गरिएको र ठूला–ठूला भवनहरू फ्रेन्च कालिगढकै सक्कल गरेर निर्माण गराएको भन्ने पढ्न पाइन्छ ।

यसका साथै फ्रान्सकै नियम कानुनको अनुसरण गरेर मुलुकी ऐन निर्माण गरेको कुरा पनि इतिहासमा उल्लेख छ । सन्
१९५० मा फ्रेन्च नागरिक मोरिस हर्जोगले अन्नपूर्णको सफल आरोहण गरेपछि फ्रान्सेली जनस्तरमा नेपालको ठूलो परिचय हुने सौभाग्य जुटेको हो ।

सन् १९५८ र १९६० मा राजा महेन्द्रबाट अनौपचारिक भ्रमण र १९६६ मा राजकीय भ्रमण भएको थियो । यी भ्रमणहरूकै फलस्वरूप २४ अप्रिल १९६७ मा नेपालको आवासीय दूतावास र जुन महिनामा पेरिसमा नेपालको आवासीय दूतावास स्थापना गरी दुई देशवीच कुटनैतिक सम्बन्ध प्रगाढ भएको पाइन्छ ।

यसपछि सन् १९८१ र १९८९ मा राजा वीरेन्द्रले फ्रान्सको व्यक्तिगत र सन् १९९४ मा राजकीय भ्रमण गरेका थिए भने
फ्रान्सका राष्ट्रपति फ्राँस्वा मितेराँले सन् १९८१ मा नेपालको डेढ दिने भ्रमण गरेका थिए ।

फ्रान्ससँग झण्डै २ सय ५० बर्षदेखिको ऐतिहासिक सम्बन्ध र पचासौँ वर्षदेखिको कुटनीतिक सम्बन्ध भएको पाइन्छ।

यसमा तपाईको प्रतिक्रिया दिनुहोस्

Leave A Reply