पोर्चुगललाई गन्तब्य बनाउने बारे सोच्दै हुनुहुन्छ ? पढ्नुस पोर्चुगल बारे भ्रम र यथार्थ

0

ऋणले घर ब्यहबार बिग्रे पछि धेरै कमाउँने प्रलोभनमा ऋण माथि ऋण काढेर पोर्चुगलको सपना देख्ने नेपालीहरुको संख्या दिन प्रति दिन बढ्दै गएको छ। छोटो समयमा नै युरोपमा कार्ड बन्ने सपना बुन्दै,नेपाल देखि नै १२- १५ लाख खर्चेर पोर्चुगल आउँनेको संख्या पछिल्ला दिनहरुमा झनै बढेको हो।बिशेष त पढाईमा तेज भएकाहरु अमेरिका,क्यानाडा,अष्टेलिया तिर गन्तब्य बनाउँने भएता पनि,त्यता तिर पुग्न असफल भए पछि, युरोप छिरेर कार्ड बनाउँने सपना धेरैले बुन्ने गरेका छन्। पढे लेखेका कतार,अरब,दुबई जानु हुँदैन भन्ने संकुचित सोचका कारणले, सेन्जेन भिसा लगाएर केहि दिनका लागि युरोप छिर्ने र यतै बस्नेहरुको संख्या दिनानु दिन बढेको पाईन्छ।केहि दिनको भिसा लगाएर युरोप छिराए बापत नेपालमा मोटो रकम असुल्नेहरुहरुको पनि कुनै कमी देखिएको छैन। प्रलोभन देखाएर मोटो रकम असुल्दै बिभिन्न बाहानामा युबाहरुलाई युरोप भित्राउँन,यहाँको यथार्थलाई राम्रै सँग बुझेकाहरु नै सक्रिय छन्। भर्खर युरोप छिरेका एक युवाले भने, “आउँन मात्र १५ लाख खर्च भयो, अब दुख सुख पोर्चुगलमा पुगेर कार्ड बनाउनु पर्ला।”

युरोप छिर्ने बित्तिकै पोर्चुगल किन जान्छन् ?

युरोप छिरेको बर्ष दिन नबित्तै रेसिडेन्सी कार्ड बन्ने हुँदा धेरैले पोर्चुगललाई रोजाईमा राखेको पाईन्छ। माओबादी द्वन्द कालमा बेल्जियम,नेदरल्याण्ड,स्बिजरल्याण्ड जस्ता युरोपियन मुलूकहरुमा,जीवन रक्षाका लागि भन्दै शरणार्थी केस गरेर, धेरैले कागज बनाए ।अहिले भने देशको अबस्था सामान्य भए पछि, त्यस्तो बिकल्प देखिएको छैन। कदम कदाचित नेपालीहरुले अहिले नै शरणार्थी केस गरी हाले पनि, केस फेल भई उल्टै डिपोर्ट गरेर घर फिर्ता गर्छ कि भन्ने डरले,त्यता तिर खासै चासो देखिएको छैन।कार्ड बनाउँनका लागि सजिलो मुलूक मध्ये स्पेन पनि एक हो तर धेरै कारणहरुले गर्दा पोर्चुगल नै नेपालीहरुको प्राथमिकतामा परेको छ। स्पेनमा कार्ड बनाउँन तिन बर्ष लाग्ने र बनाउँने प्रक्रियामा मात्र करिब १० लाख रुपैयाँ सम्म खर्च हुने देखिए पछि, धेरैले आँखा पोर्चुगलमा नै लगाएको भेटिन्छ।फेरि स्पेनमा भाषा कक्षा पढ्नु पर्ने र काम पाउँन मुस्कुल हुने हुँदा सिधै पोर्चुगलको खेति भन्दै उतै हाम फाल्ने गरेको भेटिएको छ। यद्दपी युरोपका अन्य मुलुकहरुमा बस्न सक्ने अबस्था नभए पछि,स्पेन आउँने र केहि दिन यताको अबस्था बुझेर फेरि पोर्चुगल नै अन्तिम गन्तब्य बनाउँने संख्या बढेको पाईन्छ।

पोर्चुगलको औसत कमाई ५० देखि ६० हजार रुपैयाँ, कहिले तिर्ने ऋण ?

लाखौ रकम खर्च गरेर पोर्चुगलमा आए पनि यहाँको औसत कमाई भने ५० देखि ६० हजार रुपैयाँ रहेको छ। औसत रुपमा रुपमा नेपालीहरुले कमाएको रकमले,ऋण काढेर आएको साँवा त परै जाओस् ब्याज तिर्न पनि हम्मे हम्मे देखिन्छ। कमाई हुने मुलुकमा जाँदा कुनै बिकल्प नहुनु र पोर्चुगल आउँदा कमाउँन नसक्नु युरोपमा केहि बर्ष अघि छिरेका युवाहरुले भोगेको तितो यथार्थता हो।पोर्चुगलमा ब्यापार ब्यबसाय गरेर एक महिनामा नै लाखौ रकम कमाउँने थोरै नेपालीहरु भए पनि, औसत रुपमा एक नेपालीले ५० देखि ६० हजार रुपैयाँ कमाउँने गरेको एनआरएनए पोर्चुगलका अध्यक्ष भिम कमल केसी बताउँछन्।“पोर्चुगलमा कार्ड बनाउँन सजिलो छ,यो सबैलाई थाहा छ तर लाखौ रकम खर्च गरेर कमाउँने सपना बुनेका नेपालीहरुलाई के भनौ ? ५- ६ सय युरो औसत कमाई हो,२ सय युरो खाना बस्न खर्च छुटाए पनि आखिर कति नै बचत हुन्छ ?” ब्याजमा ऋण काढेर १२ देखि १५ लाख सम्म खर्च गरेर पोर्चुगल आउँने नेपालीहरुको लागि धेरै मुस्किल छ ,कहिँले कमाउँने कहिँले तिर्ने ?” अध्यक्ष केसीले बताए।पोर्चुगलमा ५ सय देखि ८ सय नेपालीहरुले आफ्नै ब्यबसाय चलाएको, सुखद पक्षलाई पनि जोड्दै उनले भने,”पोर्चुगलमा एक सय भन्दा बढी नेपालीहरुले आँफैले रेष्टुरेन्टहरु संचालन गरेका छन्, मिनी मार्केट,सुपर मार्केट,ब्युटी पार्लर,मोबाईल पसल,घुम्ती पसल,नेपाली हस्तकला तथा गार्मेन्ट जस्ता ब्यबसायहरु पनि नेपालीहरुले नै गरेका छन्। तर महिनामा ५० हजार रुपैयाँ कमाउँने सामान्य नेपाली कामदार देखि, करिब १ लाख युरो सम्म आर्जन गर्ने नेपाली ब्यबसायी पोर्चुगलमा छन्।”

यसमा तपाईको प्रतिक्रिया दिनुहोस्

Leave A Reply